काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुने छ । त्यसअघि वैठकका एजेन्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान नौ बजे शीर्ष नेताहरुको बैठक बोलाएको छ ।
झन्डै एक बर्ष पछि बस्न लागेको उक्त बैठकले यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नबिचार गरिने भएको छ ।
गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।
साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो । गत वर्ष केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो ।