काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका प्रतिवादी सन्देश शर्माको आवाज भएको प्रमाणित भएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरी कांग्रेस नेतृ देउवाको नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानमा रहेका तुलसीपुर उपमहानगरपालिका-१६ का ३४ वर्षीय सन्देश शर्माको आवाजसँग मेल खाएको बताएको छ ।
कांग्रेस नेतृ देउवाले नक्कली शरणार्थी ठगी प्रकरणमा पैसा लिएको भनेर आफ्नो नाम जोड्दै फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै गत २७ वैशाखमा प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।
अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । यसअघि राणाले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार टिकटकमा कसले सुरुमा राखेको भन्ने विषयमा टिकटक सिंगापुरलाई पत्राचार गरिए पनि थप विवरण प्राप्त भइनसकेको प्रवक्ता कडायतले बताए ।





















