रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नरहेको बताएका छन् । उनले माओवादी कहिल्यै पनि सरकारभन्दा बाहिर निस्कन नसक्ने बताए ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आउनु भएका महामन्त्री ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस–एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए ।
उनले कांग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दावी समेत गरे ।
उनले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा नराखेको देखिएको बताए । उनले रास्वपाले पनि सहयोग गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको र पछि रास्वपा सरकार बाहिर गएको बताए । उनले दिल्लीसँग आफूले प्रधानमन्त्री बनाउन लबिङ गरेको जस्तो प्रचण्डले स्वीकार्नुभएको देखिएको बताए ।
महामन्त्री तथा प्रवक्ता ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारे ।
रास्वपा विचारमा स्पष्ट भएको र पार्टीले एकल बहुमतको सरकार बनाएर जनताले खोजेको परिवर्तनअनुसार अघि बढ्ने बताए ।




















