काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए ।
उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताए । उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको बताए ।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताए । उनले सत्तापक्षले घमण्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनै पनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले कोसी प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बताए । उनले सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताए ।
उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशको हितलाई जन्मदिनको केक झैँ काटेको बताए । उनले राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बताए । उनले संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रीपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताए । उनले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मादमा रुमल्लिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्षपोषण गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमितताका घटनाहरुको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताए ।




















