बारा । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् ।
पार्टीको कामको सिलशिलमा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले चुनावमा विपक्षीहरुले गठबन्धन नगरको भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०-२५ सिट बढी जित्ने दाबी पनि गरे । उनले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वाभिमान उच्च हुँदै गएको बताए । आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको भट्टराईको दाबी छ ।
हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्यााउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको उनले बताए ।




















