काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।
‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका थिए ।
बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे । सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुन नसक्ने बताए ।



















