काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।
सभापति देउवाले लामो समयपछि असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन् ।
बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको थियो । कांग्रेसका एक पदाधिकारीका अनुसार असार २७ देखि केन्द्रीय समिति बैठक बोलाइएको छ।
गत वर्ष साउनमा कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । तर, कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।



















