काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा गठबन्धनका नेताहरुबीच रस्साकस्सी चलिरहेकै बेला सोको निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका रहेका दलहरुको शीर्ष नेताबीच छलफल हुन लागेको हो ।
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वान गरिसकेका छन् । उनले आइतबार नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएका हुन् ।
कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । कांग्रेस नेता एवं कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले कांग्रेस एमालेबीच आलोपालो सरकार सञ्चालनको विकल्प नरहेको र यसै अनुसार आफूहरु अगाडि बढ्ने बताएका छन् ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशीमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो ।
कोशी प्रदेशमा एमाले ठूलो दलको हैसियतले फेरि पनि सरकार प्रक्रियामा दाबी गर्ने पक्षमा रहेको बताइएको छ ।
शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरुको ४७ मत रहेको छ भने विपक्षी दल नेकपा एमाले र राप्रपामा ४६ मत रहेको छ ।
यसैबीच नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ भने य अघि सरकारको नेतृत्व गरेको एमालेले भने सहमतिय सरकार गठनका लागि पहिलो आफ्नो दलले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।
कांग्रेस–माओवादी गठबन्धन सके राप्रपालाई समेटेर जाने, नत्र सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर बहुमत पु-याउने दाउमा छ । तर, एमाले भने बहुमत पुग्न नदिने र कांग्रेस–माओवादी गठबन्धनको मात्र सरकार बन्ने भएमा सभामुख बाबुराम गौतमको राजीनामा पहिलो सर्त अघि सार्ने देखिन्छ । नयाँ सरकार गठनका लागि दाबी गर्दा सभामुखको हस्ताक्षर प्रयोग गर्न नमिल्ने तर्क एमालेले गर्दै आएको छ ।
यता राप्रपाको सहयोगको आश गरेको गठबन्धन भने राप्रपाले निर्णय नगरिदिँदा अलमलमा देखिन्छ । राप्रपाले भने आफूले मुख्यमन्त्री पाए मात्र कांग्रेस–माओवादी गठबन्धनमा आउने बताइरहेको छ ।
सोही विषयमा कोशीमा दलहरुबीच सहमति जुट्न नसकेपछि केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् ।



















