विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार असार २१ गते बिहीबार अपरान्ह ५ बजेसम्मको म्याद दिएर नयाँ सरकारका लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी उनले दिए ।
‘प्रदेश प्रमुखले कोसी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नु भएको छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको यही धारा अनुसार यसअघि गठन भएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।



















