चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठुलो मात्रामा गर्नुपर्ने उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले भनेका छन्, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ ।”
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उनले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन् । उनले भने, “पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।”
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने उनको भनाइ थियो । “कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ”, उनले भने । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधीकरण गर्नुपर्ने उनले बताए ।
ओलीले भनेका छन् –
“हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो, पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ । हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ । सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध । त्यसो भएको हुनाले हामीलाई त्यस नाकाबन्दीले पनि गलाउन सकेन । हामीले के बुझ्नुपर्छ भने हाम्रो देश कृषिमा आत्मनिर्भर भयो भने अरू क्षेत्रमा आत्मनिर्भरता बढ्छ। कृषिमा आत्मनिर्भर भयो भने आधुनिकीकरण भयो भने कृषि आधारित उद्योगहरू चल्छन् । प्याकेजिङका कुराहरू, बोटलिङका कुराहरू । अथवा यसलाई रूपान्तरण गरेर बिक्री गर्ने कुराहरू । कुनै पनि कुरा गल्लीमा फ्याँक्नुपर्ने हुँदैन। कहिले कहिले हामीले दूध फ्याँकेको देख्छौँ बिक्री भएन भनेर । त्यसलाई चिजमा परिणत गर्दिने हो भने ठूलो कुरै छैन त्यो, आज बिकेन भने दुईचार दिनमा बिक्छ । चिजमा परिणत गर्ने खालि प्रविधि हामीसँग हुनुपर्यो । वा आज हामीले हाम्रो उत्पादनलाई, हाम्रा कृषिलाई र अरू कुनै पनि उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी छ । र, उत्पादन र उत्पादकत्व वृद्धि र, उत्पादनको रूपान्तरण त्यसको स्थायित्व जस्ता कुराहरूमा ध्यान दिन जरुरी छ । यसले कृषितर्फको हाम्रो आकर्षण पनि बढाउँछ । कृषि उपजलाई जीविकामुखी मात्र होइन, आम्दानीमुखी बनाउँछ। आम्दानी त्यसबाट हुनसक्छ । यसर्थ कृषिको महत्त्वलाई आजको दिनमा हामीले सबैले बुझ्न जरुरी छ ।”