काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी नेता ईश्वर पोखरेलले महाधिवेशनमा प्रस्तुत गर्ने ‘अवधारणा–पत्र’ पार्टी नेतृत्वलाई बुझाएका छन्। आफ्नो समूहका नेताहरूसहित उनी सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए। अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन ल्याइएको अवधारणा-पत्र महासचिव शंकर पोखरेलसँग भेटपछि उनैमार्फत हस्तान्तरण गरिएको हो।
मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनलाई लक्षित गरी तयार गरिएको उक्त दस्तावेजमा हालको राजनीतिक अस्थिरता, संविधानमाथिको चुनौती, बदलिँदो विश्व परिवेश तथा नेपाली समाजका संरचनागत समस्याहरूको विस्तृत मूल्यांकन गरिएको छ।
अवधारणा–पत्रको प्रारम्भमा पोखरेलले कम्युनिस्ट आन्दोलनमा बलिदान भएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २४ पछिको घटनाले ‘जननिर्वाचित सरकार जबर्जस्ती विस्थापित भयो’ भनी टिप्पणी गरेका छन्। उनका अनुसार सो घटनाक्रमले देशमा राजनीतिक रिक्तता सिर्जना गर्यो र महाधिवेशनलाई पनि ‘विशिष्ट परिस्थिति’मा ल्याइदियो।
दस्तावेजमा विश्व राजनीति गम्भीर मोडमा पुगेको विश्लेषण छ। सन् १९९० पछि स्थापन भएको उदारवादी विश्व व्यवस्थामाथि बहुआयामिक चुनौती बढेको र नयाँ प्रविधि तथा एआईको तीव्र विस्तारले ‘टेक्नो–फ्यूडलिज्म’ नामक पूँजीवादको नयाँ रूप जन्माइरहेको उल्लेख गरिएको छ। चीन, भारत र पूर्वी एसियातिर शक्ति सर्दै जाँदा भू–राजनीतिक तनाव चर्किएको र महासत्ताबीचको प्रतिस्पर्धाले साना राष्ट्रहरू थप जोखिममा परेको चेतावनी पनि उनले दिएका छन्।
दोस्रो अध्यायमा नेपाली अर्थतन्त्रलाई ‘पराश्रित र दलाल पूँजीवाद’ का रूपमा परिभाषित गरिएको छ। पोखरेलका अनुसार केही सीमित घरानाले अर्थतन्त्र नियन्त्रण गरिरहेको, उत्पादनमुखी औद्योगिकीकरण अवरुद्ध भइरहेको र गोंगबु, तीनकुने–कोटेश्वर तथा भदौ २४ का घटनाले समाज अराजकतातिर उन्मुख भइरहेको चित्रण गरिएको छ।
नेपाल विश्वका सबैभन्दा बढी जलवायु संकटको जोखिममा रहेको उल्लेख गर्दै मेलम्ची, मनाङ, मुस्ताङ, रसुवा, इलाम र मधेशका पछिल्ला विपत्तिहरूलाई उदाहरणका रूपमा उठाइएको छ। साथै अध्यक्ष केपी शर्मा ओलीको पहलमा आयोजित ‘सगरमाथा संवाद’लाई नेपालको जलवायु मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने सफल कूटनीतिक प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

























