काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागी संख्या, कार्यक्रम तालिका तथा आवश्यक संरचनागत तयारीबारे समीक्षा र छलफल गरिएको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टीका विभिन्न समिति तथा उपसमितिहरू युद्धस्तरमा सक्रिय रहेको एमाले नेतृत्वले बताएको छ।
छलफलबाट बाँकी रहेका कामहरू छिटो पूरा गर्न व्यवस्थापन समिति सचिवालयको अर्को बैठक मंसिर २५ गते बस्ने छ। ‘सम्भवतः उक्त बैठक नै ११औँ राष्ट्रिय महाधिवेशन व्यवस्थापन समिति सचिवालयको अन्तिम बैठक हुनेछ,’ ढुंगेलले भने।
नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा भव्य रूपमा उद्घाटन हुने भएको छ। महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
यसपटकको महाधिवेशनमा आयोजक तथा निर्वाचित गरी करिब २ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन्। एमालेका ७७ जिल्ला र ७ विशेष जिल्ला गरी ८१ जिल्ला कमिटीबाट संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या निर्धारण गरिएको हो। प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट गरिएको पार्टीले जनाएको छ।
पार्टी संरचनाअन्तर्गत २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग र २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहेका छन्। केन्द्रीय कमिटी र विभिन्न आयोग–निकायका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ, बाँकी प्रतिनिधि चुनावी प्रक्रियामार्फत चयन भएका हुन्।
प्रदेशस्तरबाट हरेक कमिटीबाट दुई महिला सदस्यसहित पाँचजनाका दरले ४५ प्रतिनिधि छनोट गरिएको छ। त्यस्तै, प्रतिनिधि सभा क्षेत्रको हकमा १२ सय संगठित सदस्य बराबर ४० वर्षमुनिका एक युवा र कम्तीमा एक महिला समावेश हुने गरी चार प्रतिनिधि निर्वाचित गरिएको छ।
महाधिवेशनका लागि करिब १० हजार स्वयंसेवक परिचालन गरिने तयारी छ। उनीहरू पार्टीका २४ जनसंगठन र विभिन्न कमिटीमार्फत परिचालित हुनेछन्। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) पनि स्वयंसेवाको भूमिकामा सहभागी हुनेछ।
जनपरिचालन समितिको संयोजन उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गरिरहेका छन्। समितिमा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत छन्।
सल्लाघारीस्थित नेपाल ट्रस्टको करिब १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख मानिस अटाउने क्षमता रहेको छ। मञ्च निर्माणदेखि शौचालय लगायतका पूर्वाधारको व्यवस्थापनमा स्वयंसेवकहरू सक्रिय छन्। उद्घाटनका दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा तथा पश्चिमतर्फबाट आउने सवारीलाई गठ्ठाघर–केमेरोटार क्षेत्रमा पार्किङ व्यवस्थापन गरिने जनाएको छ।

























