मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामुखसँग शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले बिहीबार भएको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
मुख्यमन्त्री कार्कीले फोनमार्फत सभामुख बाबुराम गौतमलाई शुक्रबार दिउँसो १-२ बजेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख गौतमले प्रतिपक्षी दलसँग छलफल गरेर त्यसबारे निर्णय लिने बताएका छन् । मुख्यमन्त्री कार्कीले सुरुमा आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिए ।



















