विराटनगर । कोशी प्रदेशका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सरकार चलाउने ढंग नभएकाले विश्वासको मत नदिने निष्कर्षमा पुगेको बताएका छन्।
बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मु्ख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री समेत रहेका राईले सरकार चलाउने योग्यता मुख्यमन्त्री कार्कीमा नहुँदा विश्वासको मत नदिने बताए ।
उनले कामको भुक्तानी नपाएर उपभोक्ता समिति र ठेकेदारहरू समस्यामा परेको बताए । तत्कालिन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने निर्णय गरेका छन् । कार्कीलाई विश्वासको मतका लागि ४६ सांसदको समर्थन चाहिन्छ।
उनलाई राप्रपाको साथ छ । कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरेर सत्तारुढसँग ४६ सांसद छन् । कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ ।
विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् ।



















