विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभामा गर्ने प्रस्तावलाई असफल बनाउने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।
काठमाडौंमा सोमबार आकस्मिक बैठक बसेर गठबन्धनले यस्तो निर्णय लिएको हो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजेका लागि आह्वान गरेपछि प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश संसदीय दलका नेतासहित उपलब्ध सांसदको बैठक काठमाडौंमा बसेको हो।
माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याउने विश्वासको मतको प्रस्ताव असफल बनाउन गठबन्धन दलहरू एकढिक्का हुने निर्णय बैठकमा भएको जानकारी दिए ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद (प्रदेशसभा सदस्य) आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ।
प्रतिपक्षमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी (सभामुखबाहेक) १२, एकीकृत समाजवादी ४ र जसपासँग १ जना सांसद छन् । माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमबाहेक विपक्षीको पनि ४६ जना मात्रै सांसद छन्। समान मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखको आश गरेको छ ।



















