काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।
सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे ।
उनले १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेर्तत्व कसले गर्छ ? भन्ने कुराको टुंगो लाग्ने बताए । उनले १५ औं महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताए ।
सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताए ।



















