काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दावी गरेका हुन् । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे ।
सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।
सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि बताए ।



















