काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्ने प्रयास गरेको उनको भनाइ थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए । सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।
सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दाहरुलाई छाडेर सरकार किन अल्मलिएको छ ? भनी प्रश्न समेत गरे ।



















