गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
सहिद लखन गाउँपालिका–३ सिलिङमा गए राति २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो । सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १२ जन्ती घाइते भएका छन् । दुई जना भने सकुसल रहेको बताइएको छ ।
मृत्यु हुनेहरुमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा रहेका छन् । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१९ जना सवार जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ । बेहुला–बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दिएका छ ।
दुर्घटनामा गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
उद्धारमा खटिएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पनि सघाएका थिए ।