काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन् ।
सहिद लखन गाउँपालिका–३ सिलिङमा गए राति २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो । सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको हो । त्यो गाडीमा १८÷१९ जना थिए ।
दुर्घटनामा मृत्यु भएका ५ जनाको यो पहिचान भएको छैन । दुर्घटनामा घाइते १२ जनालाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दिएका छ ।
बेहुला–बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दिएका छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।