काठमाडौँ । आज विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने कार्यसुचि रहेको छ।
सम्भावित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथिको खर्च कटौतीबारे प्रस्ताव पेश गरिने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।
सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने छन् ।