काठमाडौं । नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै बिभिन्न कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार बार परिसर रामशाहपथमा पुगेर उनीहरुले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्था आएकाले त्यसलाई अन्त्य गर्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायापालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको जनाएका छन् ।
बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरि दिनुपर्ने परिपाटी स्थापित गर्नुपर्ने र न्यायलयको पहरेदारीको रुपमा रहेका बारलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्ने अधिवक्ता यज्ञमनि न्यौपाने बताएका छन् । उनले राजनीतिक हस्तक्षेप हावी भएकै कारण सर्वोच्च लामो समय कामूका भरमा चल्न बाध्य भएको जिकिर गरेका छन् ।
कानून व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले स्वतन्त्र न्यायपालिकाको पहरेदार गर्दै आफ्नो धर्मलाई सदैव पालना गरेको बताएका छन् । उनले बारमा निर्वाचित हुँदै गर्दा राजनीतिक आस्थाको टोपी गेटमा नै फुकाल्ने प्रतिवद्धताका साथ आएको भन्दै बारमा राजनीतिक हस्पक्षेप हावी हुन नदिने धारणा राखेका छन् ।
अध्यक्ष घिमिरेले कानूनी प्रक्रिया पूरा गरेर बारमा सदस्यता दिन चाहनेलाई सहजीकरण गर्न बार तयार रहेको भन्दै राजनीतिक आस्थाका आधारमा सदस्यता दिन्छु वा दिन्न भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारेका छन् ।
उनले देशका सवै बारमा सदस्यता प्रदान गर्ने मापदण्ड र प्रक्रियाका बारेमा आएका सुझाव सकारात्मक रहेको भन्दै छिटै बारको बैठक बोलाएर आवश्यक निर्णय गर्ने उल्लेख गरेका छन् ।