काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने आदेश आज हुने छ । आज सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश सुनाउने छन् ।
न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ । आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गरेपछि जिल्ला अदालतले पक्राउ परेका १८ जना आरोपितलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्ने कानूनविद्हरुले बताएका छन् ।
आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्ने छ ।
जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।
यो प्रकरणमा फरार रहेका १२ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएपछि मात्रै उनीहरुको बयान र थुनछेक बहस हुने छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका र १२ जना फरार रहेका गरी ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाइएको छ । उनीहरुमाथि २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित सरकारी वकीलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरेको थियो ।























