काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु पौडेल (राजु मास्टर) लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार बुधबार पक्राउ परेकाहरुमा कलाकार श्रृष्ठ, पौडेललगायत पवन खतिवडा ‘म्याकुरी’, सरोज घिमिरे ‘ढेडो बूढो’ र वेगम नेपाली ‘भटभटे माइला’ रहेका छन् भने युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) रहेका छन ।
प्रहरीले बुधबार वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको बताइएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।
पक्राउ परेका हाँस्यलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताएका छन् ।