काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजदेखि बहस सुरु हुने भएको छ । मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् ।
अभियुक्तका पक्षबाट बहस गर्न पूर्व महान्यायाधिवक्तादेखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । अभियुक्त पक्षका वकिलका लागि बहस गर्न ६ दिनको समय दिइने छ ।
जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।
गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका छन् ।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् । फरारहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।