काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुकछेक बहस हुनेछ ।
शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन् । त्यसपछि मात्रै आरोपितहरुको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको पालो आउनेछ ।
दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारे एउटा निर्णय लिने कानून व्यवसायीहरुले बताएका छन् ।
पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहालले बहस गर्दै छन् । खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए ।
त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले खाँणका पक्षबाट बहस गर्ने बताइएको छ ।
त्यस्तै डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाँण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत ३० जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये १८ जना पक्राउ परेका छन्। फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

























