काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) आज सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्दैछन् । करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट सार्वजनिक हुने बताइएको छ ।
राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन् ।
त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ ।
बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्री महतले गरेका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो ।
त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ ।
बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत गर्दै छ । बजेटका अङ्क अर्थ मन्त्रालयले टुङ्ग्याइसकेको छ ।
आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ । तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ ।
करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन् । २४ घण्टाका लागि नाका बन्द गरिएको हो । जसअनुसार आज राति १२ बजेसम्म नाका बन्द रहन्छन् ।