काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।
सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।
आजै रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन समेत परेको थियो । टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिएकी हुन् ।
सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी छन् ।




















