काठमाडौं । नेपाल—भारत प्रवुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमा सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले यस्तो शंका व्यक्त गरेका हुन् । उनले प्रधानमन्त्रीले यो पटकको भारत भ्रमणमा नयाँ सम्झौता हुने बताउँदै आएको भन्दै कोशी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्न सक्नेप्रति चनाखो रहन आग्रह गरे । उनले नेपाल र भारतको १९५० को सन्धीमा भएको सम्झौता अनुसार भारतले नेपाललाई पानी कहाँ पु-याउने, कति दिने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको बताए । उनले नेपाल—भारतबीचमा भएका सन्धी सम्झौताहरु पालना नभएको बताए । उनले गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहरमा अहिले पानी नभएको बताए ।
उनले सम्झौता उल्लङ्घन गर्ने भारतसँग जलविद्युत र पानीका सम्बन्धमा सरकार नयाँ–नयाँ सम्झौता गर्दै जानु राम्रो नभएको बताए । उनले आफ्नो स्रोतलाई सरकारले पानी नभएर विद्युत दिएको भन्दै सबै भारतलाई बुझाई सकिएको बताए । उनले १५० मेगावाटको कर्णाली आयोजना भारतलाई नदिन बारम्बार प्रधानमन्त्रीलाई भन्दा पनि नमानिकन भारतको जिएसआरलाई दिँदा १० वर्षसम्म पनि बन्न नसकेको बताए । उनले कर्णाली आयोजना श्रीपेजको हिरा भनेको भए पनि भारतीय कम्पनीले अलपत्र बनाएको बताए । उपाध्यायले नेपाल सरकारको अब पानीमा स्पष्ट नीति बनाउन आवश्यक रहेको बताए । उनले भारतसँग पानीका सम्बन्धमा सम्झौता गर्दा नेपाल चनाखो हुन आवश्यक रहेको बताए । उनले विश्वको पानीको धनी मुलुकमध्ये एक नेपाल भएको भन्दै सरकारले पानीको हिसाव गर्न आवश्यक रहेको बताए । उपाध्यायले प्रधानमन्त्रीले भारत भ्रमणमा विद्युतको कुरा गर्दा पानीको हिसाव गरेर कुरा गर्नुपर्ने बताए । उनले विगतको जस्तो भिजन पेपरमा हस्ताक्षर गर्नु नहुने बताए ।
उपाध्यायले १९५० को सन्धीमा नेपालको सीमा खुला राख्न्ुपर्ने व्यवस्था नगरेको खुलासा गरे । उनले अहिलेसम्म सरकारले नेपालको सीमा खुला राखिरहेको भन्दै किन खुला राखेको भन्ने बुझ्न नसकेको बताए । उनले नेपालको सीमाना भारतका लागि खुला हुने तर भारतको नेपालीको लागि खुला नहुने अवस्था रहेको बताए । उनले आर्थिक रुपले सीमाना खुला राख्नुपर्छ भन्ने नभएको भन्दै आर्थिक रुपमा सीमाना खुला राख्दा झनै खतरा रहेको बताए । उनले प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा समेत गौरवका साथ संयुक्त विज्ञप्तिमा भारतसँग परम्परागत पुरानो सम्बन्धका साथ खुला सीमाना भन्ने गरेको भन्दै त्यस्तो गर्नु आवश्यक नभएको बताए । उनले अहिलेसम्म कुनै पनि सरकारले नेपाली सीमा खुला राख्न नहुने भनेर बन्न नसकेको बताए । उनले भारतसँगका सन्धीहरुमा सीमा खुला राख्नुपर्छ भनेर नलेखेको भन्दै नेपालले चाहे सीमानामा पर्खाल लगाउनु सकिने बताए ।
उपाध्यायले नेपाल सरकारले भारतबाट नेपाल आउने भारतीय नागरिकको कुनै तथ्याङ्क नराख्दा देशभित्र अपराधिक क्रियाकलाप बढेको बताए । उनले खुला सीमानाका कारण देशलाई अफ्ठ्यारो पर्ने क्रियाकलाप हुनसक्ने जोखिम समेत बढ्दै गएको बताए । उनले नेपालमा काम गर्न आउने भारतीय नागरिकहरुलाई श्रम स्वीकृतीबिना काम गर्न दिएको बताए । उनले श्रम स्वीकृतिको व्यवस्था गर्न आवश्यक रहेको पनि बताए । उनले नेपाल भारत सम्बन्ध बहुआयामिक भएकाले फरक विश्लेषण हुनुपर्ने बताए । उनले नेपाल भारतीच आर्थिक र विनिमयको पक्षलाई सरकारले बुझ्न नसकेको गुनासो गरे । उनले प्रत्यक्ष सरोकार राख्ने सरकारले नेपाल भारतबीच भएको नेपाल—भारत शान्ति तथा मैत्री सन्धी १९५० लाई बेवास्ता गरेको बताए ।
उनले १९५० को सन्धीको समयानुकुल परिमार्जन गर्न सरकारले बेवास्ता गर्न नहुने बताए । उनले भारतबाट नेपालीले एक रुपैयाँ ल्याउँदा भारतीयहरुले नेपालबाट ३ रुपैयाँ लैजाने अवस्था रहेको बताए ।