काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति राजेश वज्राचार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकोप्रति आपत्ति जनाउँदै उनले अभियुक्त केशव दुलालसँग आफ्नो चिनजान समेत नभएको स्पष्ट गरेका छन् ।
चिनजान नै नभएको व्यक्तिले आफूसँग सरोकार नै नभएको र थाहै नभएको विषयमा किन आफ्नो नाम पोले र पोल्न लगाइयो भन्ने आफूले बुझ्न नसकेको बज्राचार्यले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा आफूलाई थाहा नभएको र बुझेको विषय पनि नभएको उनले स्पष्ट गरेका छन् । उनले आफूले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा समाचार प्रकाशित गरेर आफ्नो चरित्रहत्या नगरी दिन उनले आम माध्यमहरुलाई आग्रह पनि गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् –“नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन । चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन । नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव बज्राचार्यको नाम सो प्रकरणमा जोडेर एमाले र अध्यक्ष ओलीलाई वद्नाम गराउन खोजिएको एमालेका नेताहरुले बताउँदै आएका छन् ।





















