काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आजको वैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने ठम्याएको एमालेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने बताइएको छ ।
‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनेका थिए, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’
यसअघि ओलीले जेठ ४ गते नै नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताएका छन् ।
सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।
प्रमुख सचेतक गिरीले, सरकारले मुलुकको अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा पनि जनतालाई भ्रममा पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले एमालेले त्यसको विरोध गर्ने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन् ।
सभामुखले उपलब्ध गराउने समयसीमा भित्र रहेर दलगत रुपमा सांसदहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफल हुनेछ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ भने जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।