काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । अर्थ समितिको आजको बैठकमा उनीहरुबीच चर्काचर्की भएको हो ।
सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच चर्काचर्की भएको हो ।
सांसद श्रेष्ठले ‘डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ…’ भन्ने शब्द प्रयोग गरेपछि अर्थमन्त्री महतले पुराना कुराभन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए ।
सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले हाल करोडौंको धनियाँ आयात गर्नु परिरहेको बताउँदै यस्ता साना तर आत्मनिर्भर हुनसक्ने विषय सुझाएका थिए ।
यसअघि सांसद श्रेष्ठले आफ्ना भनाइ राख्दा मन्त्री महतले आफूले कुरा बुझिसकेको भन्दै श्रेष्ठलाई रोक्न खोजेका थिए । मन्त्री महतले आफूले सांसद श्रेष्ठले राखेको कुरामा यस्ता विषयहरू आफूले बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाएका थिए ।
मन्त्री महतले आफूलाई समयको चाप रहेकाले छोटकरीमा आफ्ना सुझाव र जिज्ञासा राख्न भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार भए जानसक्नु हुन्छ भनेर सभापति समक्ष भनेका थिए । सांसद श्रेष्ठले सहकारीमा देखिएको संकट उठाउँदै, लाखौं रुपैयाँ खाएर सहकारीका सञ्चालक भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् भनेर प्रश्न समेत गरेका थिए ।




















