कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका हुन् ।
मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका थिए । त्यसपछि शाह मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको भए पनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए ।
उनले सुदूरपश्चिम सरकारको बिषयमा भोलि (आईतबार) काठमाडौँमा बैंठक बस्ने र त्यहीँबाट के गर्ने ? भन्ने निर्णय हुने बताए ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।




















