काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा आफ्नो मर्यादा भुल्न नहुने बताएका छन् ।
एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
संसद भवनामा सांसदहरूको पोशाकसम्बन्धी विषयमा अहिले चलिरहेको बहसका विषयमा उनले टिप्पणी गरेका छन् । उनले स्वतन्त्रताका नाममा उत्ताउलिनु नहुने बताए । ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ, धेरै उत्ताउलिएर मर्यादा भुल्नु हुँदैन’ उनले भने ।
उनले भने, ‘स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ? स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।’
अध्यक्ष ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने समेत बताए । संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे ।
उनले राष्ट्रिय परिचयपत्रमा कसैको नक्कल गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए । राष्ट्रिय परिचयपत्रका लागि फोटो लिँदा सिन्दूर पुछ्नु, पोते निकाल्नु गलत भएको उनको भनाइ थियो ।
परिचयपत्र होस् या नागरिकता होस् । जेसुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनु पर्ने बताउँदै उनले नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको उल्लेख गरे ।




















