काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् । यसअघि संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश गर्न नीति तथा कार्यक्रमबारे मङ्गलवार पनि छलफल भएको थियो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा १५ जना सांसदले प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने भएका छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहेका बेला प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्षरुपमा उत्तर दिन लागेका हुन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो ।
उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो ।
नियमावली अनुसार ३ दिन अगावै प्रधानमन्त्रीलाई सोध्ने प्रश्न सभामुखकहाँ आइपुग्नुपर्छ । त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराउने व्यवस्था छ ।



















