काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बिहान ११:०० बजे बस्नेछ ।
सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले बजेटमाथिको छलफलका क्रममा उठाएका विभिन्न प्रश्नको जवाफ दिनेछन् ।
साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएकोव थियो ।




















