काठमाडौँ । आज जेठ ३ गते अर्थात मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाइदैछ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।
दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटना थप रहस्यमय बनेको छ ।
जननेता भण्डारीले अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराएका थिए ।
मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गर्दै आएका छन् भने नेकपा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि पार्टी कार्यालयमा कार्यक्रम गर्दैछ ।
‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।
सो सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्तपछि विश्वभरिका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट श्रमजीवी वर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।



















