काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिँदै छ।
पक्राउ पुर्जी जारी भएको १० दिनसम्म फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । आइतबार राति काठमाडौं प्रहरी परिसर ल्याइएका रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने बताइएको छ । यो प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमालेले सचिव पदबाट रायमाझीलाई निलम्वन गरिसकेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउँने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ पर्नेको संख्या रायमाझी पक्राउ परेसँगै १३ जना पुगेका छन् ।
सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रायमाझीभन्दा अघि नै पक्राउ परेर प्रहरीको हिरासतमा पुगिसकेका छन् । रायमाझीका छोरा सन्दीप पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राईलगायत पक्राउ परेका छन् ।
इन्द्रजित राईका छोरा निरजलगायत १० जना आरोपी अझै फरार रहेका छन् ।
























