काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।
उनीहरुले त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरे ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । तर, कांग्रेसले खाँणलाई पार्टी सदस्यबाट भने निलम्बन गरेको छैन ।
त्यसपछि दुई चोटी बसेको कांग्रेसको पदाधिकारीको बैठकमा खाँणको निलम्बनका विषयमा गर्ने र नगर्ने भन्ने दुई थरी धारणा आएको समाचार बाहिरिएका थिए ।
यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ भने एमालेले रायमाझीलाई निलम्बन गरेको छ । तर रायमाझी फरार छन् ।




















