काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रामेछापका शेर्पा २०७० सालको निर्वाचनमा कांग्रेसबाट सभासद बनेका थिए । शेर्पाविरुद्ध जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुल गरेको र यो प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
बिचौलियालाई हिरासतमा भेटेर उनले कांग्रेस नेताहरुलाई बयानमा नपोल्न दबाब दिएको पनि उनीमाथि आरोप छ।
यो प्रकरणमा ठूला नेताहरु समेत पक्राउ पर्न थालेपछि उनी मोवाइल स्वीचअफ गरेर फरार भएको बताइएको छ ।
उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन सानु भण्डारी र केशव दुलाललाई भेटेर आग्रह गरेको आरोप छ ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका शेर्पा २०४९ मा जिल्ला विकास समिति रामेछापको उपसभापति निर्वाचित भएका थिए । गोकुलगंगा गाउँपालिका–१, चुचुरेका शेर्पाले आफ्नै वडाका व्यक्तिहरुलाई ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर रकम लिएको स्थानीयहरु बताएका छन् । उनले ५० हजार कटाएर १० जनाको रकम हालै फिर्ता गरेको समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा खेमाका शेर्पा पहिलेदेखि नै खाणसँग निकट थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार शेर्पाले रामेछाप र दोलखाका ७० जनाभन्दा धेरै स्थानीयलाई ‘शरणार्थी कोटामा अमेरिका पठाउँछु’ भनेर रकम असुलेको थाहा भएको छ ।
पैसा बुझाउनेमा उनका आफन्त नै धेरै भएको र फिर्ता गर्ने आश्वासन दिएको हुनाले पीडितहरुले उनीविरुद्ध उजुरीसमेत नगरेको प्रहरीले वताएको छ ।
निर्माण व्यवसायीसमेत रहेका शेर्पाले ‘रामेछाप शेर्पा कन्स्ट्रक्सन’ नामको निर्माण कम्पनी सञ्चालन गरेका छन् ।
























