काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले सरकारले राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पार्ने बताए । सहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको उनको भनाइ छ ।
‘हामी फोहोर व्यवस्थापनको छलफलमा छौं । उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ । यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ,’ उनले भने।
परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव नभएको भन्दै आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सकिने बताए ।
फोहोर व्यवस्थापनलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने, यसलाई समस्या होइन, आयमुलक परियोजनाको रूपमा कसरी प्रविधिकरण गर्ने भन्नेमा सरकारले जोड दिएको बताए ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, सहरी विकास मन्त्री सीता गुरूङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, बिमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरू लगायत सरोकार पक्षका प्रतिनिधिहरुको उपस्थिति थियो ।




















