काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवटारमा भएको भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले अरू पनि धेरैका फाइल खोल्ने बताउँदै राजस्वपालाई सरकारमा आउन आग्रह गरेको बताइएको छ । प्रधानमन्त्रीको आग्रहलाई धन्यवाद दिँदै लामिछानेले आफूहरु सरकारमा नभए पनि प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने प्रतिवद्धता जनाएको बताइएको छ ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएको बताइएको छ ।
रास्वपाले हालैमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकार कुनै पनि बेला ढल्न सक्ने भयले प्रचण्ड तनामा छन् । अझ भुटानी शरणार्थी प्रकरणले सत्ता गठवन्धन नै धरापमा पर्ने सम्भावना पनि बढेको छ । भुटानी शरणार्थी प्रकरणमा सत्ता साझेदार दलका शीर्ष नेता नै पक्राउ परेका छन् भने अन्य नेतालाई पनि पक्राउ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । त्यसैले लामिछानेलाई सरकारमा ल्याएर आफूविरुद्ध हुन सक्ने सम्भावित कदमलाई न्यूनिकरण गर्ने चाहनाको प्रचण्डको देखिन्छ । त्यसैले उनले सार्वजनिक मञ्चदेखि भेटघाटमा समेत रास्वपालाई सरकारमा आउन ताकेता गरिरहेका छन् ।




















