काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको आरोप लगाएका छन् ।
बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे । उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै नसक्ने दाबी गरे । उनले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए । उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसावले चलखेल भइरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाए । उनले संसदमा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताए । उनले भ्रष्टाचारको बिरुद्धमा बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको बताए ।




















