काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद् राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले अहिलेसम्म गरेको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
बुधबार संसद् बैठकमा बोल्दै लिङ्देनले यथासिघ्र नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले गरेका गतिविधिबारे जानकारी गराउन रुलिङको माग गरेका हुन् ।
लिङ्देनले भने, ‘यो आर्थिक भ्रष्टाचार मात्रै होइन, राज्यविरुद्धको जघन्य अपराध हो । यसमा संलग्न कोही पनि मानिसलाई छुट दिनुहुँदैन र कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन । प्रहरीले अनुसन्धान नगर्ने हो कि भन्ने कुरा पनि आउन थालेका छन् ।’
जघन्य अपराधमा देशको बेइज्जती गर्ने काम भइरहेको बताए । लिङ्देनले भने, ‘यो लज्जास्पद विषय हो । ठूल्ठूला मानिसहरुको नाम छ्यापछ्याप्ती आइरहेको छ । शीर्षस्थ नेताको बैठकलाई समेत आशंकाको रुपमा हेरिरहेका छन् । सरकारले आफ्नो प्रतिबद्धता र अहिलेसम्म भएका कारबाहीबारे जानकारी गराउन माग गर्छौ ।’
भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण आर्थिक भ्रष्टाचार मात्र नभई राज्यविरुद्धको जघन्य अपराध भएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नगर्न माग गरे ।
बुधबार मात्रै पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन् ।




















