काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते क्याप्टेन र स्थानीय भविन गुरुङलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले बताएका छन् ।
हेलिकोप्टर दुर्घटना हुनुअघि त्यसमा सवार २ जनाले हाम फालेको खुलेको छ । उक्त दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन् । हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताइएको छ ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताएका छन् ।
हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।





















