गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डे संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् ।
६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) ७ र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथौँ मुख्यमन्त्री बनेका हुन ।
हाल मुख्यमन्त्रीसहित दुई बिना विभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन् । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र काँग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सत्ता सारथि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको हो । अधिकारीले संसदबाट विश्वासको मत गुमाएपछि पाण्डे नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।