काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर भ्रमणमा आएका १८१ चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।
चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले विमानस्थलमा पुगेर खादा माला लगाइदिएर स्वागत गरेका छन् ।
१८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर आज विहान नेपाल भ्रमणमा आएका हुन् ।
एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु खुसीको कुरा भएकाले मन्त्री, राजदूत र आफूहरु विमानस्थलमै पुगेर स्वागत गरिएको विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताएका छन् ।
७०० चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेको र पहिलो लटमा आज १८१ जना आएको लुइँटेलले बताएका छन् ।