काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १ सय दिन अस्थिर बनेर बितेका छन् । यसअघि कुनै पनि सरकारको यो अवधि यति साह्रो उपलब्धिविहीन अवस्थाबाट गुज्रिएको थिएन ।
दाहालले सत्ताका सहयात्री फेर्दैमा समय व्यतित गरे । त्यसकारण उनले दोस्रोपटक विश्वासको मत लिनुपर्यो । तर सरकारले पूर्णता पाउन अझै सकेको छैन । उनले धेरै मन्त्रालयलाई लामो समय मन्त्रीविहीन राखे ।
तेस्रोपटक पुस १० मा प्रधानमन्त्री नियुक्त दाहालले यसपटक कम बोल्ने र ‘केही’ गरेर देखाउने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्मको कामगराइले त्यस्तो देखिएको छैन । उनी उद्घाटन र भाषणमा अल्झिए । यसै बढी भएका सार्वजनिक बिदा थप्न अग्रसर बने ।
न्यायालयलाई कायममुकायमको भरमै छाडे । खस्किएको अर्थतन्त्रलाई बेवास्ता गरे । प्रधानमन्त्री हुनेबित्तिकै केही महत्वपूर्ण निर्देशन गरेका थिए । तर, ती निर्देशनमै सीमित भए ।
सय दिनमा समय केही न केही उल्लेख्य काम हुनुपर्ने हो । तर, प्रधानमन्त्री दाहालको यो समय देश र जनताका लागि व्यर्थ भएको छ । उनले आफ्नो समय आफू कसरी सत्तामा टिक्ने भन्नेमै बिताएका छन् ।
राप्रपा महामन्त्री डा. धवलशमशेर राणाका अनुसार यो १०० दिन अलमलमै बितेको छ । उनले यो सरकारको सय दिन अलमलमा नै बितेको टिप्पणी गरे । उनले यो सरकार एक सय दिनमा सत्ता परिवर्तनमा मात्रै लागेको आरोप लगाए । उनले एउटा गठबन्धन बनाउने, त्यो भत्काउने । फेरि अर्को गठबन्धन बनाउने त्यसमै प्रचण्डको यो १०० दिन गएको बताए ।
जनताको सरोकारमा सरकारले ध्यान नदिएको उनको तर्क छ । उनले यो सरकारले जनताको सरोकारको विषयमा केही गर्न नसकेको बताए ।
एमालेका प्रमुख सचेतक पदम गिरी यो सरकार पूर्णरूपमा असफल भएको बताउँछन् । प्रधानमन्त्रीले यो गरेँ भनेर एउटा काम देखाउन सक्ने हुन नसकेको उनको टिप्पणी छ । यो सरकारले संसद्लाई बिजनेस पनि दिने नसकेको उनको भनाइ छ ।
त्यसैगरी कांग्रेस नेता मीनबहादुर विश्वकर्मा सरकार परिवर्तनमा धेरै समय व्यतीत भएका कारण धेरै काम हुन नसकेको बताउँछन् । पुरानो गठबन्धन पुनःस्थापना गर्नमै नेताहरूको समय धेरै खर्च भएको उनको भनाइ छ।
माओवादी नेता गिरिराजमणि पोखेरल यो सरकारले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनदेखि गठबन्धन परिवर्तन, मन्त्रीको रिक्ततामै धेरै समय खर्चिनुपरेको बताउँछन् । यो अवधिमा केही महत्वपूर्ण काम पनि भएको पोखरेलको भनाइ छ। प्रधानमन्त्रीले विधि र प्रणाली स्थापित गर्न जोड दिएको उनी बताउँछन् ।
उनका अनुसार संक्रमकालीन न्यायसम्बन्धी विधेयक, मिटरब्याजसम्बन्धी ऐन बनाउने लगायतका महत्वपूर्ण कामको सुरुवात भएको उनको दाबी छ । यो बीचमा शक्ति सन्तुलन कायम पनि भएको उनको दाबी छ ।