काठमाडौँ । आज देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।
आज राति कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै कुनै प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने एक-दुई स्थानमा पानी पर्न सक्छ भनिन्छ।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।