रूपन्देही । लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार मुख्यमन्त्रीको कार्यालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको बताइएको छ ।
माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।
माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताएका छन् । माओवादीको समर्थत फिर्तापछि लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
राजीनामा बुझाएसँगै माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा थप प्रकृया बुझ्न गएका छन् ।
शनिबार कांग्रेससहितका ८ दलले सरकार फेर्ने तयारीका साथ प्रदेश प्रमुखलाई सरकार फेरबदलका लागि हस्ताक्षर बुझाउने निर्णय गरिसकेका छन् ।